नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ)ले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालको अवस्थामा केही सुधार आए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।

सन् २०२२ को सूचकांकमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन् २०२१ मा ११७ औं स्थानमा रहेको थियो । नेपालले सन् २०२२ मा यस सूचकांकको १०० अंकमा जम्मा ३४ अंक मात्र पाएको छ ।

सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने जम्मा १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ ।

सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here