दूरसञ्चार पूर्वाधारमा हानी, नोक्सानी पुर्‍याउनेलाई कारबाहीको चेतावनी

फाइल तस्विर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध गर्दै आरोप लगाउँदै कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीवार एक सूचना जारी गर्दै प्राधिकरणले विभिन्न निकायहरूबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा बाधा पर्ने किसिमका कार्यहरू तथा यसका पूर्वधारमा हानी नोक्सानी पुर्‍याउने कार्य भइरहेको भन्दै यस्ता कार्य दूरसञ्चार ऐन विपरीत रहेको स्पष्ट पारेको छ ।

खास गरी, नेपाल विद्युत् प्राधिकरणले पोल भाडाको विवादलाई लिएर इन्टरनेट सेवा अवरुद्ध गर्दै आइरहेको छ । यही विषयलाई लिएर दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम कारबाहीको चेतावनी दिएको हो ।

प्राधिकरणले आफ्नो पोल प्रयोग गरेबापतको भाडा वृद्धि गरेको छ । तर, इन्टरनेट सेवा प्रदायकले भाडा तिर्न आनाकानी गरेपछि प्राधिकरणले पनि तार काटेर सेवा अवरुद्ध गर्दै आएको छ ।

‘नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको छ र हालसालै विभिन्न निकायहरूबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा बाधा पर्ने किसिमका कार्यहरू गर्ने तथा यसका पूर्वाधारमा हानी/नोक्सानी पुर्‍याउने गरी भए गरेको कार्यप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण हुन गएको छ,” सूचनामा भनिएको छ ।

यस्ता कार्य दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम दण्डनीय भएको प्राधिकरणको भनाइ छ । ”तसर्थ, यस किसिमका गैह्रकानुनी कार्य नगर्न/नगराउन सम्बन्धित सबै पक्षसँग प्राधिकरण अनुरोध गर्दछ,” सूचनामा भनिएको छ । साथै दूरसञ्चार पूर्वाधारमा हानी, नोक्सानी कार्य भएको पाइएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणालाई जानकारी गराउन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here