राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन्  राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ ।

आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरेसँगै निर्विरोध भएकी हुन् ।

आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । अर्यालको प्रस्तावकमा राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।

आजको बैठकको सम्भावित कार्यसूचीअनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका श्रेष्ठले ‘अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै उक्त प्रस्तावको सांसद देवेन्द्र पौडेल र खिमलाल देवकोटाले समर्थन गर्नेछन् । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here