फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक, रावलले विश्वासको मत पाउने सम्भावना न्यून

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टापछिका लागि सारिएको छ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। यसअघि बुधबार बस्ने तय भएको बैठक नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउनकै लागि भनेर बिहीबार सम्मलाई स्थगित भएको थियो।

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।

सावल मुख्यमन्त्री नियुक्त हुँदा भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन थियो।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ। उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन्।

नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई प्रमुख शर्त बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन ।

रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here