वाणिज्य बैंकले फागुुनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

काठमाडौं । वाणिज्य बैंकहरुले फागुनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिने निर्णय गरेको हो । बैंकहरूले माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका थिए ।

माघ अगाडिसम्म एकवर्षे मुद्दति निक्षेपको ब्याजदर नै १२ प्रतिशतभन्दा बढी पुगेको थियो ।

अहिले बैंकहरूले एक वर्षको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिने गर्छन् । संस्थागततर्फ भने ९ प्रतिशत ब्याजदर तोकिएको छ ।

राष्ट्र बैंककाे शुक्रबार हुने मौद्रिक नीति समीक्षाले बैंकदर घटाए भने बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्न सक्ने संघले जनाएकाे छ । बैंठकले अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुपर्ने नदेखिएको भन्दै स्थिर राख्ने सहमति गरेकाे हाे ।

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत रहेको छ । यस्तै बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत थप ब्याजदर दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here