एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन भएको थियो। तर विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल नेतृत्वको सरकार ढलेको हो।

रावलले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्ताव अस्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे। विश्वासको मतका लागि बिहीबार दुई पटकसम्म बैठक स्थगित गरिएको थियो। तर रेशम चौधरीलाई छाड्नुपर्ने नागरिक उन्मुक्तिको पार्टीको अडानका कारण रावल अल्पमतमा परेका थिए।

५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।

सावल मुख्यमन्त्री नियुक्त हुँदा भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन जनाएको थियो। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here