क्यान इन्फोटेक २०२३ः प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ । बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटेक विशेष अफर तथा स्किम ल्याएका छन् ।

साथै नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

विशेषगरी कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै रहेको उनले जानकारी दिए । विगतका इन्फोटेकको तुलनामा यसपाली युवाहरूको क्रेज बढेको उनले दाबी थियाे ।

क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् ।

कुल २०० स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् ।

दुई विषयमा आईसीटी सेमिनार सम्पन्न

क्यान इन्फोटेक आयोजनाको अवसर पारी बुधबारदेखि फरक फरक विषयमा आईसीटी सेमिनार पनि सुरु भएको छ । यसअन्तर्गत बिहीबार ‘नेपालमा ब्लकचेन’ विषयमा सेमिनार सम्पन्न भयो ।

ब्लकचेन प्रविधिको नेपालमा प्रयोग, यसका लागि आवश्यक स्रोत, रोजगारीको सम्भावना तथा यसले विभिन्न उद्योगलाई दिने सहयोगबारे ब्लकचेन प्रविधिबारे जानकार विवेक कोइराला र डिजिटल एज प्रालिकी प्रबन्ध निर्देशक दिव्या दलीले सहजीकरण गरेका थिए ।

त्यस्तै सो प्यानल छलफलको अध्यक्ष सीएसआईटी एसोसिएसनकी अध्यक्ष रोजिना डाँगीले गरेकी थिइन् ।

त्यस्तै ‘फिनटेक एन्ड क्रस बर्डर इनवार्ड पेमेन्ट्स एन्ड रेमिटेन्स’ विषयमा बिहीबार नै अर्को सेमिनार पनि सम्पन्न भएको छ । गत बुधबार प्रविधि उद्योग र एकेडेमियाबीच देखिएको ग्यापका विषयमा सेमिनार आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here