काठमाडौं, २८ माघ । राजधानीमा माघ २४ देखि जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरु आकर्षित भएका छन् । प्रर्दशनीको चौंथो दिन शुक्रबार विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरु इन्फोटेक अवलोकन गरेका थिए ।
इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुललगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।
मेला आइतबारसम्म चल्ने छ । त्यस्तै नेपाली उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानेका छन् ।
नेपाली विद्यार्थीले तयार पारेका एप्लिकेसन र प्रोजेक्टहरुमा अवलोकनकर्ता बढी झुम्मिएका छन् ।
त्यस्तै विभिन्न स्टार्टअपहरु यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स लगायतका स्टलमा बढी चासो देखिएको छ ।
स्टल नम्बर एच ८ मा रहेको रमाइलो गेम्समा प्रर्दशनीको पहिलो दिनदेखि नै अनलाइन गेमिङ च्यालेन्ज सञ्चालन भइरहेको छ ।
त्यस्तै शुक्रबारदेखि प्रर्दशनी स्थलबाटै अवलोनकर्ताका लागि टेलिस्कोपमार्फत सूर्य र आकाश मन्डल हेर्ने सुविधा ल्याइएको छ । यसमा विशेषगरी विद्यार्थीको चासो बढी देखिएको छ ।
प्रदर्शनीमा सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर दिइरहेका छन् । साथै प्रर्दशनीबाटै कम्पनीले आफ्ना डिलर र बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले बताए ।
यसैबीच इन्फोटेक प्रर्दशनीमा विशिष्ट व्यक्तिहरु समेत पुग्ने क्रम जारी छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रतिनिधिसभा सदस्य एवं नेकपा –एमाले० का नेता तारा लामा लगायतका विशिष्ट अतिथिले प्रर्दशनी अवलोकन गर्नुभएको थियो । त्यस्तै टिकटक स्टार बिना राउत, सरोज राना प्रजा, निमेश जङ्ग थापालगायतले पनि शुक्रबार प्रर्दशनी अवलोकन गरेका थिए ।
शनिबार ११ बजे राष्ट्रिय जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत सहित विशिष्ट अतिथिहरु आउने कार्यक्रम रहेको छ ।
१५० भन्दा बढी स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । ब्राण्डिङ कम्पनीका स्टल मुख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रसमा रहेका स्टलहमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको विक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत गरिरहेका छन् ।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष खुशल रेग्मीले क्यान इन्फोटेकमार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासलाईबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताए । उनका अनुसार यसपटक अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु बढी आएका छन् ।