उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १० देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने तय छ ।

उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिका समेत सार्वजनिक गरिसकेको छ । आउँदो चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक गरिएका छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उमेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उमेदवारको नामावली प्रकाशन गर्ने रहेको छ ।

यस्तै, चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरी उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here