महावीर पुनसँग प्रधानमन्त्रीले भने– ‘विज्ञान र प्रविधिमा लगानी नगरी विकास सम्भव छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन् ।

आज बालुवाटारस्थित निवासमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले विज्ञान र प्रविधिको विकासमा जोड दिए ।

‘वैज्ञानिक आविष्कारकाे क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन’, प्रधानमन्त्रीले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन ।’ वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए ।

‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन’, प्रधानमन्त्रीले भने । विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

आविष्कार केन्द्रका प्रमुख पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here