एक महिनामा ६४ हजार बढीले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी कुल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो ।

यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ । जसमा ४ हजार २६६ जना महिला र ३४ हजार ८५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७८३ जना रहेको छ ।

कतार जानका लागि १२ हजार ७०४ जना, साउदीका लागि १० हजार ५७६ जना, युएईका लागि ९ हजार ७७० जना र कुवेतका लागि २ हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी, साइप्रसका लागि ४१७ जनाले, क्रोएसियाका लागि ४७१ जनाले, जापानका लागि ८८२ जनाले, माल्टाका लागि २७० जनाले, पोल्याण्डका लागि ७२० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८०४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here