लगानी बचाउन प्यानिक सेलमा उत्रिए लघुवित्तका लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से

काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपर्दा बजार उच्च अंकले घटेको छ ।

कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६० कम्पनीको २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ बढीको ६३ लाख २६ हजार १०५ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तु्लनामा कारोबार रकम बढेको छ । बुधवार १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूह को परिसूचकमा राताम्मे छाएको छ ।

लघुवित्तका समूह सबैभन्दा धेरै ९.५४ प्रतिशतले घटेको छ । यस दिन ३७ लघुवित्त संस्थाको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेर बन्द भएको छ । भने अन्य ४ कम्पनीको शेयर मूल्य सर्किट लेधलमा नै घटेको छ ।

घट्नेमा सबै धेरै लघुवित्त वित्तीय संस्था रहेका छन् । बजारमा लगानी फस्ने मनोविज्ञानका साथ बिक्रीमा होमिएका लगानीकर्ताले लघुवित्त शेयर बिक्री चाप बढाउँदा कारोबारमा आएका सबै लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा पहिरो गएको छ।

आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ७० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको ७ करोड ९६ लाख रहिमालयन डिस्ट्रीलरीको ७ करोड २१ लाख बढीको कारोबार भएको छ ।

छिमेक लघुवित्त, स्वाबलम्बन, समिट, स्वरोजगार, जनउत्थान, नयाँ सारथी, कालिका, ग्लोबल आइएमई, सूर्योदय, मेरो माइक्रो फाइनान्स, माइक्रोफाइनान्स, आरएसडीसी, फरवार्ड, महुली, उन्नती, वीन ,नाडेप, आरम्भ, सामुदायिक, आँधिखोला, महिला, जीवन विकास, राष्ट्र उत्थान, जाल्पा, नेष्डो, आदर्श, धौलागिरी, शिर्जनशील र मिथिला लगायत लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ व्यवस्था गरेको छ।

त्यसैगरी वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्नेछ।