अब परिचयपत्र खुल्ने कागजात बिना वैदेशिक रोजगार विभागमा प्रवेश गर्न नपाइने

काठमाडौं । सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ ।

कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाउन सेवाग्राहीको प्रवेशमा कडाइ गर्नुपरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्ला दिनमा कानुन, विधि र प्रक्रियाविपरीत कार्यालयभित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी आतंक मच्चाउने जस्ता गतिविधि बढेपछि काम गर्ने वातावरण प्रभावित हुँदै गएको उनको भनाइ छ ।

साथै, उनले कार्यालयको काम कारबाहीप्रति कुनै गुनासो भए कानुनी प्रक्रियाबमोजिम गुनासो लिएर आउन सेवाग्राहीलाई आग्रहसमेत गरेका छन् ।

‘कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई सम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाई गरिएको हुँदा, विभागमा काम लिएर आउनुहुने सेवाग्राहीहरुले आफ्नो परिचयपत्र खुल्ने कागजात लिई विभाग प्रवेश गर्नुहुन अनुरोध छ’, आज जारी सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here