सुत्केरी मृत्यु घटना: त्रिशुली अस्पतालका मेसुको राजीनामा माग्दै पिपलटार-गंगटे क्षेत्र बन्द

काठमाडौं । त्रिशुली अस्पताल र सुत्केरीपछि मृत्यु भएकी २४ वर्षीया सरिता न्यौपानेको आफन्तबीच पिपलटार गंगटे क्षेत्र बन्द गरेका छन् ।

मृत्यु प्रकरण हिजो निकालिएको आधिकारिक धारणाको विरोध गर्दै र त्रिशुली अस्पतालका मेसु दिपेन्द्र पाण्डेको राजीनामा माग गर्दै आफन्तहरुले पिपलटार गंगटे क्षेत्र बन्द गरेका हुन् ।

न्यौपानेको उपचारका क्रममा मृत्युभएपछि आफन्तले त्रिशुली अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै छानबिनको गर्दै दोषि माथि कारबाहीको माग गर्दै आएका छन्।

यस्तो छ अस्पतालको विज्ञप्ति

यस अस्पतालमा मिति २०७२/११/०८ गते आकस्मिक शल्यकृयाबाट सुत्केरी गराईएको सरिता न्यौपानेको मिति २०७९/११/१० गते काठमाडौंको मनमोहन मेमोरीयल अस्पतालमा मृत्यु भएको दुःखद घटना प्रति अस्पताल परिवार गहिरो दुःख व्यक्त गर्दछ । उक्त घटनामा दिवंगत हुनु भएका स्व. सरिता न्यौपानेको आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना सहित नवजात शिशुको शिघ्र स्वास्थ्य लाभको कामना गरिन्छ ।

मिति २०७९/११/०८ गतेका दिन त्रिशुली अस्पतालमा आमाको गर्भभित्र बच्चा खेल्ने पानी ( Amniotic Fluid) धेरै नै कम भएको र बच्चाको धड्कनमा समेत उत्तार चढाव आएको (38+WOG with Severe Oligohydramnios with fetal distress-abnormal CTG) हुँदा सम्बन्धित चिकित्सकले जाँच गरि बच्चालाई हुन सक्ने जोखिमको बारेमा जानकारी गराई काठमाडौं लैजान सल्लाह दिँदा समेत जोखिमको जिम्मेवारी स्वयम् लिने भनी श्रीमानले शल्यक्रिया गर्न सहमति पत्रमा (Written Consent ) हस्ताक्षर गरे पश्चात शल्यकृया गरिएको र शल्यकृया पश्चात करिब ८ घण्टासम्म आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र त्यसपछि क्रमश श्वास-प्रश्वासमा जटिलता हुँदै आक्सिजनको मात्रा कम देखिएपछि विरामीलाई (आई.सि.यु.) ICU मा स्थानान्तरण गरियो ।

साथै विरामीको आफन्तलाई विरामीको श्वास- प्रश्वासमा जटिलता हुदै गएपछि EmLSCS for severe Oligohydramnios with sepsis with AKI with Bilateral pneumonia (D/D DIC) निदान गरी तत्काल काठमाडौं लैजानु पर्ने सल्लाह दिईयो । विरामीलाई बाटो अवधिभर सहज बनाउनको लागि आकस्मिक उपचार ICU मा गरियो र थप उपचारको लागि २०७९/११/०९ गते ९:०० बजे विहान काठमाडौं रिफर गरियो । सो पश्चात मिति २०७९/११/१० गते काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा विरामीको मृत्यु भएको खबर जानकारी प्राप्त भयो ।

मिति २०७९ / ११ / ११ गतेका दिन नुवाकोट जिल्ला प्रशासन कार्यालयमा भएको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पिडित पक्ष सहित सरोकारवालाहरुको उपस्थितिमा भएको छलफलबाट निर्णय भए बमोजिम उच्च स्तरिय विज्ञ सहितको छानविन समितिको गठन भएको र उक्त छानविन समितिले पेश गरेको प्रतिवेदन अनुसार दोषी ठहरिएमा जो कोहिलाई पनि कानुन अनुसार कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासन प्रतिवद्ध छ ।

साथै विभिन्न सामाजिक सञ्जालमा अस्पताललाई दोषि आरोप लगाई रु. ५,००,०००/- (अक्षेरुपी पाँच लाख रुपैया) क्षतिपुर्ति वापत दिईएको भनी प्रचार प्रसार भएको सन्दर्भमा सो रकम क्षतिपुर्ति स्वरुप नभई नवजात शिशुको पालनपोषणको लागि मृतकको सम्बन्धित पालिकाको सहयोगमा दिईने खर्च रहेको समेत जानकारी गराईन्छ ।

डा. दिपेन्द्र पाण्डे
मेडिकल सुपरिन्टेन्डेण्ट
त्रिशुली अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here