चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएपछि निगमले थाल्यो छानबिन

काठमाडौं । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट झापा ल्याइएका चारवटा ट्याङ्करमा भएको डिजेलमा मिसावट भेटिएपछि छानबिन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानबिन थालेको हो ।

टोलीले मेचीनगर–१३, चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ ।

निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चारवटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ । ‘केन्द्रबाट आएको छानबिन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छ,’ उनले भने ।

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे १ ख २१५१, उत्तरगङ्गा यातायात प्रालिका नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ ।

ती ट्याङ्कर हाल चारआलीस्थित निगमको शाखा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ । भारतबाट ट्याङ्करबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सिधै बिक्रेता पेट्रोलपम्पमा पठाउने चलन छ ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानबिन समितिले आजदेखि छानबिन थालेको हो । छानबिन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् ।

भारतमा नेपालको तुलनामा मट्टीतेलको मूल्य कम छ । अझ सरकारी कोटाको मट्टीतेल झनै सस्तो हुने गर्छ । नेपाल ल्याइएको डिजेलमा भारतको सस्तो मट्टीतेल मिसाइएको हुन सक्ने आशङ्का गरिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट भारतको सिलिगुढी डिपो ३५ किमि टाढा छ भने चारआली डिपो १५ किमिमा छ । भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्याङ्करको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्छ ।

– रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here