लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए उजुरी दिन अनुरोध गरेको छ ।

राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै आफूसमक्ष उजुरी गर्न भनेको हो ।

पछिल्लो समय लघुवित्तहरुले मनपरी ब्याज लिएको खबर विभिन्न सञ्चार माध्यममा आउन थालेसँगै राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो ।

सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक-फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक-फरक भएको बताउँदै लघुवित्तको हकमा १५ प्रतिशतभन्दा बढी ब्याज नहुने राष्ट्र बैंकले जनाएको छ ।

वित्तीय चेतनाका लागि भन्दै राष्ट्र बैंकले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘वाणिज्य बैंकलाई ‘क’ वर्गको बैंक भनिन्छ । विकास बैंकलाई ‘ख’ वर्गका वित्तीय संस्था र फाइनान्स कम्पनीलाई ‘ग’ वर्गका वित्तीय संस्था भनिन्छ । यसैगरी लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भनिन्छ । यी सबै संस्थाहरु राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त वित्तीय संस्था हुन् ।’

‘लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन ।’- राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाईमा गुनासो दर्ता गर्न समेत आग्रहम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here