‘नेपाल आयुर्वेदको लागि प्राकृतिक भूमि, प्राथमिकता दिन सरकार प्रतिबद्ध छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए।

प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए।

उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे।

उनले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए। उनले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताए।

उनले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवद्र्धन गर्न जरुरी रहेको बताए।

उनले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए।

उनले भने, ‘आयुर्वेदालाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध छ। नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो। नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरु पाइन्छन्, यार्सागुम्बा, अमला, लगायतका विभिन्न अमूल्य जडिबुटीहरु पनि यहाँ पाइन्छ।

सिंहदरबारस्थित वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेक छौँ। हामीले पहिलो प्राथमिकतामा राखेर आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ।

अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ। तर पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ। यसलाई हामीले न्यूनीकरण गर्दै जानुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here