१५ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।

फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।

यद्यपि कुल ट्रेजरीमध्ये ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको १२ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार २८ दिने ट्रेजरीको २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नवीकरण र ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी हुनेछ। १८२ दिनका लागि भने बैंकले ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिक्री गर्नेछ।

यसअघि फागुन १५ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here