आर्मी र संकटा बराबरीमा रोकिँदा एनआरटीलाई सातदोबाटोले हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले अंक बाँडेका छन्।

दशरथ रंगशालामा आइतबार सिजनको आफ्नो पहिलो खेलमा संकटा र आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेल अवधिभर आर्मीविरुद्ध निरन्तर आक्रमणको प्रयास गरेको संकटाले विभागीय टिमको रक्षापंक्ति छिचोल्न सकेन। संकटाका जुनियर केङ्गेले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।

सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ गोलले पराजित गरेको छ ।

दीपकले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमै सङले बराबरी गोल फर्काएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा दीपकले पुन: गोल गर्दै सातदोबाटोका लागि तीन अंक सुरक्षित गरे।