होलीमा उपत्यकाको सुरक्षा व्यवस्था कडा, २,६०० बढी प्रहरी परिचालन गरिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्थापन कडा गर्ने भएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरिने जनाएको हो ।

पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होलीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिने प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

पर्वका नाममा हुने विकृति र घटनाहरूको न्यूनीकरण गर्न होली मा होली पर्वसम्बन्धी विभिन्न कार्यक्रम हुने स्थानमा बढी प्रहरी परिचालन गरिनेछ ।

‘उपत्यकाभर २,६०० बढी पोसाकका प्रहरी तैनाथ हुनेछन् । विशेष–विशेष स्थानमा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिनेछ,’ एसपी रिजालले भने ।

अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here