विदेशिएका नेपालीलाई लगानीको अवसर,के-के छ सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १० गतेदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्न लागेको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले ५० करोड रूपैयाँ बराबरको ‘ वैदेशिक ‘रोजगार बचत पत्र २०८४’ ‘क’ बिक्री गर्ने गर्न लागेको हो ।

चैत १० गतेदेखि २०८४ चैत १० सम्म पाँचवर्षे परिपक्व अवधि भएको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दैछ । यस ऋणपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् ।

पाँच वर्ष अवधिको बचतपत्रमा १२.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। तर यसमा ब्याजकर लाग्नेछ। राष्ट्र बैंकका अनुसार ६-६ महिनामा ब्याज भुक्तानी गरिनेछ।

आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ ।

के-के छ सुविधा ?

१२.५ प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी गरिन्छ भने पाँच वर्षमा सावाँ पनि फिर्ता पाइन्छ । साथै, चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ ।

कसले किन्न पाउँछ ?

यो धितोपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासिय नेपालीले आफू वा आफ्नो परिवारका सदस्यको नाममा समेत खरिद गर्न सक्नेछन्।

ब्याज भुक्तानी लिने स्थान: आफूलाई पायक पर्ने बैंक बित्तीय संस्थाहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु ।

खण्डित अवधिको ब्याज: खरीदको लागि रकम बुझाएकै मिति देखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने ।

बचतपत्रको किसिम: स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने । लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here