टिपरको ठक्करबाट काठमाडौंमा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं । गए राति काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट पत्रकार पवनलाल श्रेष्ठ र शंखरापुर नगरपालिका ७ साँखुका स्थानीय ५० वर्षीय हरि खड्काको मृत्यु भएको छ ।

साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार श्रेष्ठको नेपाल मेडिकल कलेज अत्तरखेलमा तथा खड्काको शङ्करापुर अस्पताल साँखुमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।

दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन्। उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए।

दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here