पर्यटनमन्त्रीकाे आग्रहः सम्पूर्ण नेपालीले फेसबुक, ट्वीटरमा भ्रमण वर्षको लोगो राखाैं

२६ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण २०२० लाई सफल बनाउनको लागि आआफ्नो ठाँउबाट सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई आह्वान गरेका छन् ।

मन्त्री भट्टराईले आइतबार एक विज्ञप्ती जारी गरी नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न र नेपालमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनमा जुट्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका हुन् ।

साथै उनले निजी तथा संघसंस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा एकाउन्टमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह गरेका छन् ।

सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि उत्साहजनक सहयोगको अपेक्षा गरेको विज्ञप्तीमा उल्लेख छ ।

पर्यटन क्षेत्र मुलुकमा रोजगारी सिर्जना, गरिवी निवारण तथा समावेशी विकासका दृष्टिकोणले समेत अर्थतन्त्रको एक महत्वपूर्ण आयाम रहेको बताउँदै मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित मनाइन लागेको नेपाल भ्रमण वर्ष सफल बनाउन सबैको साथको अपेक्षा गरेको बताएका छन् ।

दुई साता अघि मात्रै पर्यटन मन्त्रीको रुपमा नियुक्त भएका भट्टराईलाई नेपाल भ्रमण वर्ष सफल बनाउने र नेपाल वायुसेवा निगमको सुधार गर्नुपर्ने चुनौती रहेको छ ।

गत शुक्रबार मात्रै एक अन्तक्रिया कार्यक्रम गरी उनले भ्रमण वर्ष सफल बनाउनको लागि पर्यटन व्यावसायीहरुबाट सुझाव मागेका थिए ।

यस्तो छ विज्ञप्तीः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here