बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् ।

भेटका लागि राजदूत सङ मेयर बालेनको कार्यकक्षमा आएका हुन् । उनीहरूबीच आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । सङले काठमाडौंका सम्पदाहरूको निर्माण शैली चीनका सहरहरूमा प्रबर्द्धन गर्न चाहेको बताए ।

‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ’, शाहले भने ।

मेयर शाहले अगाडि थपे, ‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’

नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध २ हजार वर्षभन्दा पनि पुरानो उल्लेख गर्दै बालेनले काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको र यस सम्बन्धलाई बिर्सन नहुने बताए ।

भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताए । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ । ‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन्’, राजदूत सङ्को भनाइ छ ।

कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।

भेटका अवसरमा प्रमुखका व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here