अर्थतन्त्रमा आन्तरिक दबाब कायमै रहे पनि व्यापार घाटा १९ प्रतिशतले कम

काठमाडौं । देशको अर्थतन्त्रमा आन्तरिक दबाब कायमै रहे पनि बाह्य दबाब भने क्रमशः घट्दै गएको छ ।

मागमा संकुचन, ब्याजदर वृद्धि, बढ्दो बेरोजगारी, मूल्य वृद्धि लगायत कारणले अर्थतन्त्रको आन्तरिक क्षेत्र दबाबमा रहे पनि बाह्य क्षेत्रमा भने केही महिनादेखि लगातार सुधार आएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना (माघ)सम्मको तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य सूचकमा दबाब कम हुँदै गएको देखाएको हो ।

समीक्षा अवधिमा आयात र निर्यात दुवै घट्दा मुलुकको व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ । माघ मसान्तसम्म व्यापार घाटा रु.८२५ अर्ब ७३ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो ।

माघसम्म कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई रु.९१९ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै, निर्यात पनि २९.० प्रतिशतले घटेर रु.९३ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.७ प्रतिशत र १३.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ८.० प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here