‘अर्थतन्त्र सुधारका लागि नीतिगत परिवर्तनको पहल गरिरहेका छौँ ‘

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने बताए।

उनले कसैको व्यक्तिगत एजेन्डा भन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताए ।

ढकालले भने, ‘अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ । यसलाई सबैको जित हुने गरी तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने अवस्था छ । व्यक्तिको भन्दा पनि हाम्रो एजेन्डाको जित हुनुपर्छ । निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ । यसकालागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौँ । यसलाई निष्कर्षमा पुर्‍याउने गरी महासंघ लागिरहेको छ ।’

बैंकको ब्याजदरको कुराको सन्दर्भमा आफूहरूले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको बताए । उनले तीनवटै तहका सरकारहरू निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरू द्रूत रुपमा अगाडि बढ्न सक्ने बताए ।

निकट भविष्यमा नै महासंघको नेतृत्व लिन लाग्नुभएका ढकालले खुल्ला सीमाना कारण भैरहवालगायत सीमाक्षेत्रका व्यवसायीहरू मर्कामा परेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here