सडक खाली गर्ने परम्परा तोड्दै राष्ट्रपति पौडेलले गरे कुमारी दर्शन

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बसन्तपुरस्थित कुमारीको दर्शन पछि बाहिरिनुहुँदै । तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवि कुमारीको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

राष्ट्रपति पौडेल सवार गाडीको अघि र पछाडि स्कर्टिङ मात्र गरिएको थियो । राष्ट्रपति सवार हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै आलोचना हुँदै आएकोमा पौडेलले सो गुनासो कम गर्ने बताएका थिए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उनको आलोचना गरिएको थियो । उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सो क्रममा राष्ट्रपति पौडेललाई कुमारी घरका प्रमुख गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले स्वागत गरेका थिए ।

राष्ट्रध्यक्ष भएपछि जीवित देवि कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here