‘अर्थतन्त्रको बाह्य अवस्थामा सुधार देखिएपनि आन्तरिक अवस्था चिन्ताजनक’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अर्थतन्त्रको बाह्य अवस्थामा सुधार देखिएपनि आन्तरिक अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

विद्यमान आर्थिक अवस्था वारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा महासंघका पदाधिकारीहरुले उक्त कुरा बताएका हुन् ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र एफएनसीसीआईका पदाधिकारी बीच अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहित पदाधिकारीहरू र सो दलका संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू थिए ।

सो अवसरमा अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका वारेमा विस्तृृत जानकारी गराएका थिए । बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको उनको भनाई थियो ।

सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा सञ्चिति, मुद्रास्फिति, आन्तरिक एवं बाह्य ऋणको अनुपातका हिसाबले नेपालको अर्थतन्त्र मजबुत देखिए पनि चर्को ब्याजदर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका सूचकका कारण अर्थतन्त्र खराब रहेको गोल्छाले बताए।

अर्थतन्त्र गम्भीर संकटमा हुनुमा सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिबीच तादात्म्य नभएको उनको भनाइ छ।

अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरूको प्रभावकारी नियमन गर्ने मुद्दालाई संसद्‌मा प्रभावकारी ढंगबाट उठाउनुपर्ने माग गरे। राजनीतिक दलहरूले समृद्धिका कुरा गरे पनि समृद्धिका सारथी निजी क्षेत्रसँग आर्थिक विषयमा कहिल्यै पनि उदार दिलले कुरा गर्न नचाहेको उनले दुखेसो गरे।

रास्वपाका संसदीय दलका नेता अर्यालले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायका मुद्दामाथि छलफल एवं अध्ययन गर्न महासंघ आएको स्पष्ट पारे।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको, अर्थतन्त्र, उद्योग व्यवसाय सम्बन्धी नीति निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसँग पर्याप्त छलफल गर्नुपर्ने माग गरे।

महासंघका उपाध्यक्ष रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले उत्पादनमूलक उद्योगमै गएर उनीहरूका समस्या बुझेर संसद्‌मा आवाज उठाई दिन आग्रह गरे। पैसा बैंकमा जम्मा गरेर ब्याज खाने प्रवृत्ति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको उनीहरूको दावी थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here