विदेशमा रहेका नेपाली श्रमिक कसरी हुने सामाजिक सुरक्षा कोषमा आबद्ध ?

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षितगरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन् ।

सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लागेको हो । श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिन्छ ।

विदेशमा रहेका नेपालीले नेपालको बैङ्कमा पैसा पठाउन सक्नेछन् । नेपालबाट श्रम स्वीकृति लिएर जाने क्रममा उनीहरू अनलाइन मार्फत नै आबद्ध हुनेछन् । विदेशमा रहेकाले नवीकरण गर्दा पनि अनलाइनमार्फत आबद्ध हुनेछन् ।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम २ हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइनेछ । खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

ह्वाट्सय एप र भाइबर ग्रुपमा जोडिएर सूचना लिन वा जिज्ञासा राख्न सकिन्छ । त्यसका लागि कल सेन्टर स्थापना गरिएको छ र यो चौबिसै घण्टा सन्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here