वैदेशिक रोजगारीमा रहेकालाई सुरक्षा कोषमा आबद्ध गर्दा ठूलो राहत पुग्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले वैदेशिक रोजगारीमा गएकालाई सामाजिक सुरक्षा कोषमा जोडेपछि श्रमिक तथा तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन्।

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिकाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको सुरुवात कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन्।

रोजगारका लागि विदेश गएकाहरुले देशलाई चलायमान बनाउन ठुलो योगदान गरेको बताउँदै उनले वैदेशिक रोजगारदाताहरू कोषमा आबद्ध हुन पाउँदा उनीहरुलाई ठुलो सहयोग पुग्ने बताए।

‘वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको छन्। रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देश चलायमान भएकाले उनीहरुका लागि सरकारले यस्ता योजनाहरु आगामी दिनमा पनि ल्याउनुपर्छ,’ उनले भने।

यसैगरी, वैदेशिक रोजगारमा रहेका रोजगारदाताहरुलाई ती देशहरूले सामाजिक सुरक्षा कोषको सुविधा नदिएको अवस्थामा सरकारले यो ठुलो कामको सुरुवात गरेको उनले बताए।

‘रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पुरा गरेको छ,’ उनले भने, ‘सरकारले श्रमिकहरुको सुरक्षाको लागि काम गर्ने सुरुवात गरेको छ।’