बारा, रौतहट र मकवानपुर ‘यमगज’को आतंक, ६ महिनामा ५ जनाको मृत्यु

काठमाडौं । झापाबाट प्रवेश गरेको जंगली हात्ती यमगजले बारा, रौतहट र मकवानपुरमा आतंक मच्चाइरहेको छ । यमगजले ६ महिनामा बारामा २, रौतहटमा २ र मकवानपुरमा १ जनाको ज्यान लिएको छ । १४ वर्षे किशोर हात्ती यमगज हिंस्रक देखिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका अनुसार यो हात्ती अहिले रौतहटको जंगलसैया क्षेत्रमा रहेको छ । बारा, पर्सा, रौतहट र मकवानपुरको वन क्षेत्रमा आतंक मच्चाइरहेको यमगज बाराको टांगियाबस्ती क्षेत्रको राष्ट्रिय वन छोडेर जंगलसैया पुगेको हो । यमगजकै कारण निकुञ्जको हात्तीसारका ८ ढोईलाई सुरुमा रामभौरीभाठा र त्यसपछि प्रतापपुर पोष्टमा लगेर राखिएको छ ।

असारको तेस्रो साता झापा, कोशी टप्पु हुँदै पूर्वबाट यमगजसहित ५ वटा हात्ती पर्सा निकुञ्जसम्म पुगेका थिए । पूर्वबाट सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराको टांगिया बस्ती हुँदै निकुञ्ज क्षेत्रमा ती हात्ती प्रवेश गरेका थिए ।

जंगली हात्तीको समूहले बर्सेनि झापादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको लामो यात्रा गर्ने र एउटा निश्चित समय पछि पुनः फर्कने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here