ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

काठमाडौं । मिटर ब्याज पीडितले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै विरोध गरेका हुन् ।

टंगालबाट फर्किएर धर्नाबस्न माइतीघर मण्डलामा पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट शुरु गरेका पैदल मार्चमा बालबच्चा बोकेका महिलाहरुसमेत सहभागी छन् । न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् ।

सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार जान हिँडेका थिए ।

पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान दिएन् । उनीहरु टंगालको सडकमा प्रदर्शन गरे ।

तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।

यसअघि पनि तराई-मधेशबाट मिटर ब्याजपीडित काठमाडौं पुगेर धर्नामा बसेका थिए। सरकारले उनीहरूको माग सम्बोधन गर्ने सहमति गरेपछि घर फर्किएका थिए।

तर, सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि फेरि न्यायका लागि पैदल काठमाडौंतर्फ हिंडिरहेको उनीहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here