पहिलोपटक महिलाहरुले मात्रै ताने सेतो मछिन्द्रनाथको रथ, यी रुटमा सवारी साधन निषेध

फाइलफोटो

काठमाडौं । काठमाडौंमा पाँच दिनसम्म चल्ने वर्षा र सहकालका देवता करुणामय सेतो मत्स्येन्द्रनाथको रथायात्रा (रथजात्रा) आजबाट सुरु भएको छ ।

हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।

सेतो मछिन्द्रनाथको मन्दिर रहेको जनबहालबाट सेतो मछिन्द्रनाथलाई विधिपूर्वक पूजा गरि खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशाला अघि ल्याइएको थियो। त्यसपछि आज तीनधारा पाठशाला अघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराइएको थियो।

आज सयौं मानिसले तानेर घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै असनसम्म पुर्‍याउने गरिन्छ। यसपटक महिलाले मात्रै रथ तानेर जात्रा सुरु गरेका हुन्। पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्‍याएका हुन्।

चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्‍याइन्छ ।

चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।

चैत १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ।

चैत १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here