तीन व्यवस्था फेरियो, शरतसिंह भण्डारी सधैँ मन्त्री

काठमाडौं । समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका छन्।

२०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भण्डारी त्यसयताका कुनैपनि निर्वाचनमा एउटै दलबाट उठेका छैनन् । हरेक पटक दल बदल्दै चुनाव उठ्दै, जित्दै र मन्त्री बन्दै आएका छन् ।

भण्डारी पहिलोपटक २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा सहायकमन्त्री भएका थिए। पञ्चायत ढलेर प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा ६८ वर्षीय भण्डारी ले १२औँ पटक मन्त्रीको शपथ लिएका छन्।

हरेकपटक भएका पुनर्गठनलाई समेत गन्दा उनी १९औँ पटक मन्त्री भएका छन्। दाहाल नेतृत्वको मन्त्रिपरिषद्‍मा धेरैपटक मन्त्री बन्ने नेतामा उनी पर्छन् ।

मधेसको महोत्तरीबाट यिनले जति पटक चुनाव जिते लभगभ त्यति नै पटक दल पनि बदलेका छन् र मन्त्री पनि बनिरहेका छन् । २०३२ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका यिनी पञ्चायत व्यवस्थाबाट प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका हुन् ।

त्यसयता यिनी कांग्रेस र मधेसवादी दलका विभिन्न खेमामा प्रवेश गर्दै पटक–पटक चुनाव जित्न र मन्त्री बन्न सफल भए । पञ्चायत व्यवस्थामा यिनले महोत्तरीबाट दुईचोटी चुनाव उठे, दुवै (२०३८ र ०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य) जिते ।

बहुदलकालमा ०५१ र ०५६ सालमा पनि महोत्तरीबाटै प्रतिनिधिसभा सदस्यमा विजयी भए । गणतान्त्रिक कालमा पनि महोत्तरीबाटै संविधानसभा र प्रतिनिधिसभामा चुनाव जित्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here