रवि लामिछानेविरुद्ध फेरि सर्वोच्चमा रिट निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका हुन् ।

लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।

“रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका हुन् होइनन् यकिन गर्न सोसँग सम्बन्धित सम्पूर्ण दस्ताबेजहरू मिति तोकी विपक्षीहरूबाट पेस गर्न लगाई दोहोरो छलफल नभएसम्म श्री सर्वोच्च अदालतको मिति २०७९/१०/१३ को निर्णय प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्नु नगराउनु र निज रवि लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिनु भनी श्री सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम श्री निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरी पाऊँ,” रिट निवेदनमा भनिएको छ।