नवीकरण नगरेका क्याम्पसलाई त्रिविको निर्देशन-‘वैशाखभित्र स्पष्टीकरण पेस गर्नू’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका सम्बन्धनप्राप्त क्याम्पससँग स्पष्टीकरण मागेको छ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले एक सूचना निकालेर आगामी वैशाख मसान्तसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

उपकुलपति कार्यालयको योजना निर्देशनालयले सूचना जारी गर्दै विभिन्न सङ्काय तथा संस्थानहरूको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रम सञ्चालन गरेका क्याम्पस/कलेजमध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले वैशाखभित्र नवीकरण नगर्नुको कारण खुलाउन निर्देशन दिएको हो ।

सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन् । नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने सूचनामा उल्लेख गरिएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ ।

विभिन्न संकाय तथा संस्थान र कार्यक्रमको सम्बन्धन लिएका क्याम्पस/कलेजहरुले कुनै वा सबै कार्यक्रम खारेज गर्न चाहेमा त्रिवि योजना निर्देशनालयमा निवेदन दिन पनि भनिएको छ। सोमबारसम्ममा व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त ८१८ वटाले मात्रै नवीकरण गरेका निर्देशनालयले जनाएको छ।

यी संकायबाहेकका इन्जिनियरिङ अध्ययन संस्थानका १० क्याम्पस, चिकित्सा अध्ययन संस्थानका १५ क्याम्पसलगायत केही विभागको सम्बन्धनप्राप्त कलेजहरुले नवीकरण गरिसकेका छन्। त्रिविअन्तर्गत १ हजार ६० सम्बन्धनप्राप्त कलेजहरु छन्।

नवीकरण भएका क्याम्पसको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here