लघुवित्तलाई कर्जा लगानी र लाभांश वितरणमा राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरु माथि थप कडाइ गरेको छ । यसअघि लघुवित्तको कर्जा लगानी र लाभांश वितरणमा अंकुश लगाएको नेपाल राष्ट्र बैंकले अहिले निक्षेप संकलनमा पनि कडाइ गरेको हो ।

पछिल्लो समय लघुवित्तहरुले व्यवसाय खुम्चिएको भन्दै कर्जा लगानीमा सहज गरिदिन लबिङ गरिरहे पनि राष्ट्र बैंकले भने निक्षेप संकलनमै कडाइ गरेको हो ।

लघुवित्त संस्थाहरुले अन्धाधुन्ध र मनपरी कर्जा प्रवाह गरेकोभन्दै गत फागुनदेखि एउटा लघुवित्तले एउटा लघुवित्तले मात्र ऋण दिन पाउने व्यवस्था गरेको थियो । साथै, एउटा व्यक्तिलाई अधिकतम ७ लाखभन्दा बढी ऋण दिन नपाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै १ लाख वा सोभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

‘एक लाख वा त्यसभन्दा बढीको बचत/निक्षेप स्वीकार गर्दा लघुवित्त संस्थाले ग्राहकलाई रकमको स्रोत उल्लेख गर्न लगाउनुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । यससँगै अब ग्राहकले लघुवित्त संस्थाहरुमा १ लाखभन्दा बढी बचत गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएको छ ।

यसअघि नै राष्ट्र बैंकले लघुवित्तका एकैपटक वा पटकपटक गरी एक दिनमा १० लाख वा त्यसभन्दा बढीको रकम नगद जम्मा गर्दा राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here