अर्थमन्त्रीले सोधे-‘उपत्यकामा राजस्व किन लक्ष्यभन्दा कम उठ्छ’ ?

काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा उनले भने, नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो ।’

‘विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो । गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निक्कै कम देखियो’ मन्त्री महतले भने ।

यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन, राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजिगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको देखिन्छ ।

बैठकमा डा. महतले भने, ‘यी तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।’

‘काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेका छन् । ती राजश्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन । बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको बिकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परीक्षकको कार्यालयले ‌प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी छ ।

यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु हुने भन्ने पूर्ण अपेक्षा गरेको छु ।’

समिक्षा प्रतिवेदनले एउटा राजश्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिन्छ । एक अर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ठ परिवेश होला ? संकलन दर सबैतिर सामान्यत एकैप्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ भन्दै मन्त्री डा. महतले विभाग प्रमुखहरुलाई प्रश्न गरे ।

‘झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट राजस्व आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । यहाँ पनि समस्या देखियो । यसमा कहाँ त्रुटी भयो, त्यसको समीक्षा हुन जरुरी छ । तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ’ उनले भने, ‘समस्या पहिचान हुनुपर्यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’

बैठकमा मन्त्री डा. महतले भने, ‘यदि हामीले विश्लेषणपछि नयाँ कार्यदिशा तय गर्न सकेनौं भने कर्मकाण्डी समिक्षा मात्र हुन्छ, नयाँ काम गर्न सक्दैनौं । आन्तरिक राजस्व कार्यालयहरुमा कुनैको राजस्व संकलनमा प्रगति भएको छैन भने कुनैमा सामान्य प्रगति भएको छ ।

यी कार्यालयका प्रमुखहरुले किन यस्तो भयो भन्ने कारण खोज्नुपर्छ । बदमासी भएको छ, दुरुपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ । अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरुको मूल्यांकन गर्ने पद्धतिलाई विकास गर्नुपर्छ । गरे पनि त्यस्तै, नगर्दा पनि त्यस्तै भयो भने त के अर्थ भयो ?’

‘पछिल्लो समयमा ठूला व्यवसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन् । त्यत्ति हुँदा पनि काठमाडौं उपत्यकामा किन राजस्व संकलनले लक्ष्यभन्दा कम उठ्छ ? भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो’, यसमा गम्भीररुपमा लिन मन्त्री डा. महतले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here