विद्यालयको नाम र लोगोसम्बन्धी नियम पालना नगरे कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम विद्यालयको नाम र लोगो (चिन्ह) राख्न अनुरोध गरेका छन् ।

शाहले आइतबार सामाजिक सञ्जालमार्फत महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्ह बारेमा एकरुपता ल्याउन खोजेको जानकारी दिएका छन् ।

अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् । उनले नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्डअनुरूप रहन आग्रह गरेका छन् । नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने समेत उनले जानकारी गराएका छन् ।

महानगरको शिक्षा व्यवस्थापन नियमावलीको परिच्छेद १२ अन्तर्गत विद्यालयको चिन्ह, नामाकरण तथा अन्य व्यवस्थाको बुँदा ६९ मा विद्यालयको चिन्ह षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्ने उल्लेख छ ।

बुँदा ७० मा विद्यालयको नामाकरण को (१) मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ । तर, यो नियम प्रारम्भ हुनभन्दा अगावै यस नियम विपरीत नामाकरण भैसकेको विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागु हुनेगरी पुनःनामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here