भारतीय विदेशमन्त्री जयशंकर बुधबार नेपाल आउँदै

काठमाडौं, १ भदौ । भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकर बुधवार नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी उनी आउने जानकारी दिएको हो । उनी नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर नेपाल आउने भएका हुन् । आयोगको बैठक बुधबार र बिहीबार बस्दै छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र जयशंकरले बैठकको सहअध्यक्षता गर्नेछन् र आफ्नो प्रनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

बैठकले दुई देशवीचको सम्बन्ध, आर्थिक साझेदारी, ब्यापार तथा ट्राञ्जिट, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षा तथा अन्य विषयमा छलफल गर्ने छ ।

लामो समयदेखि तयार भएर पनि भारतले बुझ्न नमानेको प्रवुद्ध व्यक्तिहरुको समूहको प्रतिवेदनबारे पनि बैठकमा छलफल हुने बताइएको छ । अधिकांश मुद्दा पुरानै र दशकौंदेखि चल्दै आएका छन् ।

बैठकले २०७३ मा बसेको बैठकमा प्रस्तुत विषयको प्रगतिको समीक्षा गर्ने बताइएको छ ।

उनी बुधबार बिहान काठमाडौं आएर बिहीबार साँझ भारत फर्किने पनि मन्त्रालयले जानकारी दिएको छ । उनले राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने छन् ।

नेपाल भारत संयुक्त आयोग सन् १९८७ मा गठन गरिएको थियो । करीब २२ वर्ष रोकिएको आयोगको बैठक २०७१ मा बसेको थियो । यसको पछिल्लो बैठक २०७३ सालमा बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here