२९ अर्ब १३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, आइतवार बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनेको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि १२ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ।

यी ट्रेजरी बिल क्रमशः असार १२ गते, भदौ १२ गते, मंसिर १२ गते २०८१ जेठ १५ गते परिपक्व हुनेछन्।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।