भेरी अञ्चल अस्पताल प्रदेशकै उत्कृष्ट बन्छः उपप्रधानमन्त्री यादव

काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शुरु गरिसकिएको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले भेरी अञ्चल अस्पताललाई भविष्यमा शिक्षण अस्पताल बनाउन सकिने पनि बताए ।

बैठकमा सांसद महीन्द्रराय यादवले नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा कहिलेसम्ममा पु¥याइँदैछ भनी प्रश्न गरेका थिए ।

सांसद प्रेम सुवालले प्रधानमन्त्री स्वास्थ्योपचारका लागि सिङ्गापुर गएको प्रसङ्ग उठाउँदै नेपालमा सबै रोगको उपचारको व्यवस्था गर्न सकिँदैन र भनी पूरक प्रश्न गरेका थिए ।

जवाफमा उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भएको र भइरहेको बताउँदै यहाँका चिकित्सकको सिफारिसमा प्रधानमन्त्री उपचारका लागि सिङ्गापुर जागएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री यादवले गजेन्द्रनारायण सिंह अस्पताललाई स्तरोन्तति गर्ने सम्बन्धमा सो अस्पताललाई आधार बनाएर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन आदेश आइसकेको जानकारी दिए । सोहीअनुसार बजेट पनि विनियोजन भइसकेको उनको भनाइ थियो ।

सांसद प्रेम सुवालले सर्वसाधारण जनताको उपचारका लागि सरकारले सञ्चालन गर्दै आएको वीर, शिक्षण, कान्ति, प्रसूतिलगायत अस्पतालका उपकरण उपयोग नहुने र बिग्रिएको उपकरण समयमा मर्मत नहुने तर त्यहाँकै विशेषज्ञ चिकित्सक निजी महँगा अस्पतालमा काम गर्ने तथा गरीब बिरामीले उपचारको लागि घरखेत बेच्नुपर्ने स्थिति कहिले अन्त्य होला भनी प्रश्न गरेका थिए ।

जवाफमा उपप्रधानमन्त्री यादवले उक्त अस्पतालमा जनताको सहज उपचारका लागि विभिन्न व्यवस्था गरिएको बताउँदै सिटी स्क्यानलगात उपकरण चालू अवस्थामा रहेको बताए ।

उनले ती अस्पतालमा विशिष्टीकृत सेवासहित स्तरोन्नति गर्न विभिन्न योजना अघि बढाइएको जानकारी गराए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here