नाडा अटो शोमा विशेष आकर्षण: ७४ लाख पर्ने अगस्टाकाे ब्रुटल ८०० मोटरसाइकल

-जितेन्द्र खनाल

काठमाडौं, १२ भदौ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोको १४ औं संस्करणमा विभिन्न ब्राण्डका आकर्षक सवारीहरु प्रदर्शनीमा राखिएका छन् ।

विभिन्न किसिमका सवारीसाधनहरु एकै छानामुनी पाइने र त्यसका बारेमा सबै जानकारी पाइने भएकाले पनि गाडी मोटरसाइकल खरीद गर्न चाहने र विशेषगरी नेपाली अटोप्रेमीहरुको नाडा अटो शोमा भिड लाग्ने गर्छ ।

ती मध्ये यसपालीको मेलामा विशेष आकर्षणको रुपमा इटालियन कम्पनी एमभी अगस्टाको ‘ब्रुटल ८०० आरआर एलएच ४४’ मोटरसाइकलमा युवा दर्शकहरुको घुँइचो लागेको छ ।

एमभी अगस्टाको नेपालस्थित आधिकारिक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले बिहीबारमात्रै सार्वजनिक गरेको यो मोटरसाइकललाई वाउ भन्दै फाेटाे खिच्ने, मुल्य साेध्ने दर्शकहरूकाे भिड नै लागेकाे देख्न सकिन्थ्याे ।

७३ लाख ९० हजार नेपाली रुपैयाँ बिक्री मुल्य तोकिएको यो मोटरसाइकल अगस्टाले तीनपटकका फर्मुला वान च्याम्पियन लुइस ह्यामिल्टनसँगको सहकार्यमा निकालेको कम्पनीले बताएको छ ।

यो नेपालमा एक युनिटमात्रै आइपुगेको छ र यो मोटरसाइकल विशेष यस अर्थमा पनि छ कि कम्पनीले विशेषरुपमा लिमिटेड एडिसनको रुपमा विश्वभर जम्मा १४४ युनिट मात्रै निर्माण गरेकाे छ । त्यस्तै मोटरसाइकल नाडा अटो शोमा राखिएका मध्ये सबैभन्दा महंगो मोटरसाइकल हो ।

यो मोटरसाइकल कार्बन फाइबर र थर्मोप्लाष्टिकबाट बनेको भेलोसिटीका सर्भिस हेड सुसान खड्काले बताए । यो मोटरसाइकल नेपाल ल्याउनको लागि पनि निकै मेहनत गर्नुपरेको पनि उनले बताए ।

‘विश्वमै जम्मा १ सय ४४ पिसमात्रै छ यो बाईक,’ उनले भने, ‘यो बाईकलाई नेपाल ल्याउनको लागि धेरै मेहनत गर्नुपरेको छ ।’

यति महङ्गो बाईक नेपाली बजारमा बिक्छ त भन्ने प्रश्नमा उनले भने ‘हामीले त २÷३ वटा नै मागेका थियौं तर १ पिसमात्र पायौं । नेपालमा यस्तो धेरै बाईकको सौखिन मानिस पनि छन्, सम्भवत आजै यो बाईकको बुकिङ्ग हुन्छ होला ।’

भेलोसिटीले नेपालमा एमभी अगस्टाको महंगा मोटरसाइकल भित्र्याएर बिक्री वितरण गर्दै आएको छ ।

यो बाहेक पनि अन्य ४ मोडलका मोटरसाइकल राखेको कम्पनीका मोटरसाइकलको सुरुवाती मुल्य नै ४३ लाख ९० हजार रहेको छ ।

अगस्टा एफ३ को ४३ लाख ९० हजार मुल्य राखेको कम्पनीले अर्को मोटरसाइकल अगस्टा एफ४को मुल्य भने ६१ लाख ९० हजार राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here