एडीबी लगानीका पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति, ऋण रकम ५९ करोड २० लाख डलर

काठमाडौं, १९ भदौ । एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ ।

बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो ।

बैंकले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाले लक्ष्यअनुसार गति लिएका तथा अघिल्लो वर्षको साउन १५ गतेको तुलनामा २०७६ साउन १५ गतेसम्ममा समग्रमा सबै ३१ वटा परियोजनाको प्रगति सन्तोषजनक रहेको जनाइएको छ ।

बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको कार्यान्वयनमा निकै चुनौती रहेका भए पनि तिनको समाधानमा नेपाल सरकारले देखाएको तत्परताको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक उन्नयन नै बैंकको मुख्य लक्ष्य भएको बताए ।

भूकम्प प्रभावित क्षेत्रमा १५४ वटा विद्यालय पुनःनिर्माण सम्पन्न हुन लागेका तथा विद्युत् उत्पादन तथा वितरण अभिवृद्धि परियोजनाको पनि प्रगति उल्लेख्य भएको उनले जानकारी दिए ।
पछिल्ला वर्षमा बैंकले नेपाललाई अधिक ऋण उपलब्ध गराएको चर्चा गर्दै उनले सन् २०१८ मा ऋण रकम ५९ करोड २० लाख अमेरिकी डलर पुगेको बताए ।

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले निर्धारित समयमा परियोजना पूरा गर्नेतर्फ सम्बद्ध सबै पक्ष इमान्दारीका साथ लाग्नुपर्नेमा जोड दिँदै सरकारीस्तरमा हुनुपर्ने काम र सहजकर्ताको भूमिकाबाट आफूहरू नचुक्ने प्रतिबद्धता व्यक्त गरे । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here