ओलीले भने-‘सुतिरहेका महिलालाई लखेटेर एमालेलाई बदनाम गराउने षड्यन्त्र’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको अभियानमा साथ दिन आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई अनेक प्रकारको षड्यन्त्रले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिस भइरहेको बताए ।

उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघलाई सोधेको थिएँ । युवा संघले पनि भिडिओ हेरेर थाहा पायौं भन्छ । हाम्रो कुनै संलग्नता छैन भन्छ ।

यो आफैं बिरामी आफैं झाँक्री के भन्छ नि ! त्यस्तै कुरा हुनसक्छ । तर, युवा संघको यस्तो खालको क्रियाकलाप होइन हुन सक्दैन भनेर मलाई बताएको थियो । हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन अध्ययन गर्दैछौं भनिसक्या छ ।

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंसिर ७ गते बिहीबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् । दुवै पक्षले आफ्नो प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका छन् र जिल्ला–जिल्लाबाट समर्थकहरुलाई काठमाडौंमा ओसार्ने तयारी गरेका छन् ।

उनीहरुको प्रदर्शनलाई लक्षित गरी काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here