कुन देशमा कसरी मनाइन्छ होली, तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

काठमाडौं, ३ चैत । फागू पूर्णिमा अर्थात होली पर्व । रङहरूको रंगिन पर्व होली सबैभन्दा रमाइलो पर्व पनि हो। आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ ।

काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर होली मनाइन्छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । नेपालमा विजयको प्रतीकको रुपमा होली पर्व मनाइन्छ ।

हिमाल, पहाडमा पूर्णिमाकै दिन मनाइने होली तराई-मधेसमा किन भोलिपल्ट ?

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ ।

पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ।

उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन।

होलिका आगोमा जलिसकेको देखेर हिमाल, पहाड तिर मान्छेहरु होलिकाको मृत्युको खुशीमा होली खेल्न थालिसकेका थिए । ‘

होलिका वध होस् वा कामदेव भष्म भएको प्रसंग, नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको हो।

मध्यरातमा होलिकाको प्रतीक जलाई त्यसबाट निस्केको खरानीको टीका लगाएपछि होली सुरु भएको मानिन्छ। मध्यरातमा होलिकाको प्रतीक जलाएको हुनाले तराईमा भने भोलिपल्टमा होली मनाउने प्रचलन आएको दाबी छ ।

एक क्षेत्रका मानिसले पूर्णिमाको राति होलिका दहन गरेपछि होली समापन भएको मान्छन् भने अर्को क्षेत्रका मानिसले ‘होलिका दहन’ भएपछि होली मनाउन सुरु गर्छन्। एउटै देश, एउटै पर्व, एउटै संस्कृति तर काठमाडौं उपत्यकामा एक दिन, तराई–मधेसमा अर्को दिन मनाउने चलन छ ।

कुन देशमा कसरी मनाइन्छ होली

फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ।

चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।

अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।

श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ।

फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।

नेपाल

नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन होली मनाइन्छ । यस दिन काठमाडौंको वसन्तपुरमा विभिन्न रंगीन कपडाहरू मिलाएर बनाइएको चीर ठड्याएपछि होली पर्व सुरू भएको मानिन्छ । र, सोही दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ ।

त्यस्तै भक्तपुरमा चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागुपर्वको सुरूवात भएको मानिन्छ । र, लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । नेपालका गाउँ, सहरमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ ।

भारत

भारतमा होलीलाई फगुवा, फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवको नामले मनाइन्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ ।

साथै भगवान् श्रीकृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाँव र बर्सनाको होली हेर्न पर्यटकको ओइरो नै लाग्छ ।
छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ ।

त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर…’ पूरै एसियामा लोकप्रिय छ । गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोड्ने प्रतियोगिता र उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई लौरोले प्रहार गर्ने होली पनि निकै लोकप्रिय छ ।

दक्षिण अफ्रिका

दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।

सुरिनाम

सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।

अमेरिका

अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन्। अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो।

बंगलादेश

बंगलादेशमा पनि होली पर्व मनाइन्छ। यो मुलुक बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ। बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ।

पाकिस्तान

भारतीय संस्कृतिको प्रभाव रहेको तथा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति रहेकाले पाकिस्तानमा पनि होली मनाइन्छ । यहाँ होलीको दिन विशेषगरी घर–आँगन सफा गर्ने, विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई पनि खुवाउने र साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन छ । पाकिस्तानमा प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।

बेलायत

बेलायतमा होली मनाउने आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मूलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा सांगीतिक कार्यक्रमहरू पनि हुन्छन् । यहाँ विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ ।

मौरिसस

अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा होलीको दिन सार्वजनिक बिदा नै दिइन्छ । करिब ६३ प्रतिशत नागरिक भारतीय मूलको भएकै कारण यहाँ होलीले महानता पाएको हो । यहाँ पनि होलिका दहन गरेर, एकापसमा मिठाई बाँडेर, पानी र रङको प्रयोग गरेर र साथीभाइसँग खानपिन र रमाइलो गरेर होली खेलिन्छ ।

फिजी

फिजीमा पनि धुमधामसँग होली मनाइन्छ । सांगीतिक रमझम गरेर, राधाकृष्णको प्रेमभावका गीतहरू गाएर र विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसम भरि नै होलीका गीतहरू गाइन्छ ।

किन मनाईन्छ होली पर्व ? यस्तो छ कारण

होली खेल्दै हुनुहुन्छ ? हाेसियार ! भुलेर पनि नगर्नुस यी काम, क्यान्सर होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here