भारतीय कडाइको प्रभाव: दुईदिनमै प्याजको मूल्य ३० प्रतिशत बढ्यो

काठमाडौं । भारतले एकपछि अर्को उपभोग्य वस्तुको निर्यातमा कडाइ गरेको छ । गत महिना चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अहिले प्याज निर्यातमा कडाइ गरेको हो ।

भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य अस्वभाविक रुपमा बढेसँगै नियन्त्रण गर्न एकैपटक ४० प्रतिशत कर लगाएको हो । यसअघि भारतबाट प्याज निर्यातमा कुनै पनि किसिमको कर लाग्दैन थियो ।

त्यसको प्रभाव नेपालमा परेको छ । कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ । प्याजको मूल्य ३० प्रतिशतसम्मले बढेको छ।

आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ । हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो । नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो ।

यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारत सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here