काठमाडौं, ६ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रगतमा देखिएको एन्टिबडीले कोरोना भाइरस रोक्न सक्ने प्रतिरोधी क्षमता रहेको वा नरहेको भन्ने कुरा मापन हुन नसक्ने बताएको छ ।
विश्व स्वास्थ्य संगठन हाम्रो शरीरमा कोरोनासँग लड्न सक्ने क्षमता रगतमा भएको एन्टिबडी परीक्षणले निर्धारण गर्ने वा नगर्ने विषयमा कुनै प्रमाण नभएको बताएको हो ।
संगठनका कार्यकारी निर्देशक डा माइक र्यानले भने‚निको भएका संक्रमितहरू‚ जसलाई फेरि परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएको छ‚ उनीहरूको शरीरमा भएको एन्टिबडीले कसरी काम गरिरहेको छ भन्ने विषयमा अझ चासो बढाएको छ।
‘अहिलेसम्मको अवस्थामा कसैले पनि प्रतिरक्षात्मक क्षमताको विकास गरेको संकेत समेत प्राप्त भएको छैन उनले भने ।
पछिल्लो समय कोरोना भाइरसबाट निको भएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि मानिसको शरीरमा हुने एन्टिबडीको कसरी काम गर्छ भन्नेबारे प्रश्न उब्जिएको थियो ।
विभिन्न वैज्ञानिक भने जसमा पुनः कोरोना संक्रमण देखिएको छ‚ उनीहरूबाट उक्त भाइरस अरूमा सर्ने वा नसर्ने भन्ने विषयमा भन्ने अन्यौल रहेको बताउँदै आएका छन् ।
केहि देशहरुले निको भइसकेका व्यक्तिको एन्टिबडीलाई कोरोनासँग जुधिरहेका बिरामीको रगतमा हालेर उपचार गर्न सकिन्छ कि सकिन्न भनेर ‘एन्टिबडी’ परीक्षण सुरू गरेका थिए ।
अमेरिकाको खाद्य तथा औषधि विभाग ‘फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन’ ले ‘एन्टिबडी’ परीक्षण सुरू गर्नको लागि अनुमति दिएको थियो ।
चिकित्सकहरुले कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ ।
फेरी अर्को पटक त्यही भाइरसले आक्रमण गर्यो भने उसको प्रतिरोधात्मक शक्तिले भाइरसलाई परास्त गर्न सक्छ भन्ने तर्क गर्दै आएका छन् ।
चीन, सिंगापुर लगायत देशमा यस किसिमको परीक्षण हुँदै आएको छ । चीनको अनुभव हेर्ने हो भने, भाइरस संक्रमणबाट निको भइसकेका अधिकांश व्यक्तिमा एन्टिबडीको मात्रा उच्च पाइएको छ । निको भएका धेरै बिरामीको रगतमा एक महिनाभित्र राम्रो एन्डिबडी विकास हुने चिनियाँ अध्ययनले देखाएको छ ।
यो अनुसन्धानमा खासगरी दुईवटा एन्टिबडी परीक्षण गरिन्छ । पहिलो, इम्युनोग्लोबुलिन एम, जुन हाम्रो शरीरले संक्रमण भएको केही दिनपछि विकास गर्छ । अर्को, इम्युनोग्लोबुलिन जी, जसले भाइरस आक्रमणसँग लड्न मद्दत गर्छ ।
यो परीक्षणले १५ मिनेटमै नतिजा देखाउँछ । तर, एन्टिबडी छ भन्दैमा कोरोनासँग लड्ने प्रतिरोधात्मक क्षमता विकास भइसक्यो भनी सुनिश्चित नहुने वैज्ञानिकहरुको राय छ ।
‘एन्टिबडीका’ निम्ति तोकिएका पाँचवटा मापदण्ड
यसको निम्ति पाँचवटा मापदण्ड तोकिएका छन् । पहिलो, ती व्यक्तिहरू बिरामी हुँदा कोरोना भाइरस ‘पोजिटिभ’ हुनुपर्छ । दोस्रो, उनीहरू भाइरस संक्रमणबाट निको भइसकेको हुनुपर्छ ।
तेस्रो, १४ दिन कुनै कसिमको लक्षण देखिएको हुनुहुँदैन । चौथो, अहिले गरिने कोरोना परीक्षणमा ‘नेगेटिभ’ नतिजा आएको हुनुपर्छ । र, पाँचौं, उनीहरूको रगतमा भाइरससँग लड्ने ‘एन्टिबडी’ को मात्रा उच्च हुनुपर्छ ।
अनुसन्धानमा छनौट हुने व्यक्तिलाई ‘प्लाज्मा’ दान गर्न रगत केन्द्रमा पठाइनेछ । यो विधि रक्तदानसँग मिल्दोजुल्दो छ ।
एउटै मात्र फरक भनेको, यसमा बिरामीको शरीरबाट निकालिने रगतलाई एउटा मेसिनमा पठाइन्छ, जहाँ त्यो रगतबाट ‘प्लाज्मा’ निकाल्ने काम हुन्छ । ‘प्लाज्मा’ निकालेपछि रगतको रातो र सेतो कोषिकालाई फेरि दाताकै शरीरमा फिर्ता पठाइन्छ ।
यसका लागि दाताको दुवै हातमा सुई घोपिन्छ । एउटा हातबाट रगत बाहिर तानिन्छ । त्यो रगत ‘प्लाज्मा’ संकलन गर्ने मेसिन हुँदै अर्को हातको सुईबाट बिरामीकै शरीरमा छिर्छ ।
सामान्यतया ६० देखि ९० मिनेटमा यो प्रक्रिया पूरा हुन्छ । एक व्यक्तिबाट संकलन गरिने ‘प्लाज्मा’ तीन जना बिरामीको उपचारलाई पर्याप्त हुनेछ ।