काठमाडौं, १९ कात्तिक । साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।
उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटेका छन् ।
विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश सिवाकोटीका गीत छन् जसमा जुनु गौतमको स्वर छ । गौतम चलचित्रको सहनिर्मातासमेत हुनुहुन्छ । चलचित्रको प्रिमियर सो अष्ट्रेलियाको भियनामा गरिसकिएको छ ।
साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय चलचित्रमा प्रस्तुत गरिएको छ ।
घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाङ्कन गरिएको छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रले घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताए ।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धाचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे, पिताका भूमिकामा किशन सुनार र मातामा उमा गिरी छन् ।
अन्य कलाकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढी घन् । यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतीक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनूँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरेका छन् ।
शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरूलाई समाजले अवहेलना गर्नुहुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ ।
शारीरिकरूपमा असामान्य मानिसकोे घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दागर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञान व्यावहारिकरूपमा समेटिएको चलचित्रको लागत करीब रु ८० लाख छ ।
विसं २०३७ असार २१ धनकुटाको कचिंडेमा बुबा कृष्णबहादुर र आमा आशादेवीकी छोरीका रूपमा जन्मिनुभएकी घिमिरेले रचना गर्नुभएका कृतिमा ‘सङ्कल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ र ‘क्वाँटी’ कवितासङ्ग्रह छन् ।
उनले प्राप्त गरेका पुरस्कारमा राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ छन् ।
मस्तिष्क पक्षाघातले गर्दा हातगोडा लुला भएकी उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिएकी छैनन् र गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि पे्ररणादायी बनेको छ ।(रासस)