मंकीपक्स न्यूनीकरणमा नेपालको तयारी के छ ?

कामठाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ । अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको र नेपालमा यसको जोखिम हुन सक्ने भन्दै जोखिम न्यूनीकरण तयारी थालेको हो ।

अफ्रिकाको कंगोमा हालसम्म मंकीपक्स ९एमपक्स० भाइरसबाट ५ सय ४८ जनाको मृत्यु भइसकेको र छिमेकी देशहरूमा पनि द्रूत रूपमा फैलिने क्रममा छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा भइरहेको एम्पक्सको वृद्धिलाई १४ अगस्ट २०२४ मा विश्वव्यापी जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मंकीपक्सको विषयमा विज्ञसँग सुझाव लिइसकेको र जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा रहेको जानकारी दिए । साथै, हवाई तथा जमिनका नाकाहरुमा रहेका हेल्थ डेस्क तथा सरुवा रोगहरुको निगरानी (सर्बिलेन्स) गर्ने तीनै तहका निकायहरुलाई सतर्क गराएको उनको भनाइ छ ।

पछिल्लो वर्ष नेपालमा पनि एक जना ६० वर्षीय विदेशी महिलामा एम्पक्स रोगको संक्रमण पुष्टि भएको थियो । ‘पूर्वतयारी स्वरूप स्वास्थ्य तथा जनसंख्या र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेका छौं,’ डा बुढाथोकीले भने ।

एम्पक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा (घाउ खटिरा) बिमिराको सम्पर्क शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍याल) को सम्पर्क, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने विज्ञहरुले बताएका छन् ।

एम्पक्स संक्रमणमा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।

मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ ।

यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ । मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ । साना बालबालिकामा मृत्युदर उच्च रहेको छ । हालको समयमा मृत्युदर लगभग ३.६ प्रतिशत छ । झन्डै दश संक्रमितमध्ये एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।

एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । सामान्यतया यो आफैं ठीक भएर जाने भाइरल रोग भएकाले यसको कुनै विशेष उपचार छैन ।

बिरामीहरूलाई पर्याप्त पोषण स्थिति कायम राख्न तरल पदार्थ र पौष्टिक खाना खुवाउने तथा माध्यमिक ब्याक्टेरिया संक्रमण (सेकेन्डरी ब्याक्टेरिया संक्रमण) संकेत अनुसार उपचार गरिन्छ ।

मन्त्रालयले पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए पनि आमनागरिकबाट जनस्वास्थ्यका मापदण्डहरु पालना भएमा मात्र मंकीपक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने भएकाले सम्पुर्ण सरोकारवालाहरुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न-गराउन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here